Entertainment

आज साउने सङ्क्रान्ति, हिन्दुधर्मालम्बी महिलाहरुको विशेष महिना

काठमाण्डौ – सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि अध्यक्ष गौतमले बताए

साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । यसवर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण आफन्तकहाँ जान सहज छैन । यसैले धेरैले घरमै परिवारका सदस्यबीच रमाइलो गरी पर्व मनाउँदै छन् ।

साउन भगवान शिवको पूजा आराधना गरी बिताइने धर्म र संस्कृतिको महिना हो । साउनभरी माछामासु, लसुनप्याज नखाएर, नङ, कपाल नकाटेर व्रत बस्ने चलन छ । विशेषगरी महिलाका लागि त साउन झनै रमाइलो र रोचक हुने गरेको छ । यो महिनामा लगाइने हरियो चुरा र पहिरनहरुको खासै धार्मिक महत्व नभए पनि साउनमा प्रकृति र पोशाकको तालमेल चाख लाग्दो देखिन्छ ।

त्यसो त साउनमा हरियो पोशाककै नाममा चुरा, मेहन्दी र हरिया लुगाको व्यापार पनि अघिल्ला वर्षहरुको तुलनामा बढ्दै गएका छन् । साउन महिनामा महिलाहरुको हरियो चुरा र पोशाक प्रतिको आकर्षण देखेर अहिले बजारमा साउन सुरुहुनु पहिले देखी नै हरिया चुरा र पहिरनहरु सजाएर राख्ने गरेको पाईन्छ ।

विवाहित हुन् या अविवाहित, हरिया पहिरनमा सबै युवतीहरुको आकर्षण देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् भने अविवाहित युवती पनि आर्कषण र रमाईलोको लागी हरियो चुरा, हरिया पहिरन र मेंहन्दी लगाउँने गर्दछन् । पछिल्लो समय धेरै सेलिब्रेटीहरुले पनि साउनलाई फेसनको रुपमा लिएका छन् भने मेहेन्दी, चुरा र हरिया पहिरन लगाएर साउनलाई फेसनमय बनाएका छन् । विभिन्न कारणले साउन अहिले हरियालीमय बनेको छ । हातमा मेहेन्दी, हरियो चुरा र हरिया पहिरन नलगाइ हिड्ने महिलाहरु बिरलै देख्न पाइन्छ ।

वर्षा, प्रेम र झरीको सँगम साउन महिना धार्मिक हिसावले पनि हिन्दु नारीहरुको लागी अर्को महत्वको महिना हो । साउन लागेपछि बर्खा सकिएर चाडवाड पनि सुरु हुन्छ । साउन महिनामा हरिया चुराको पहिरन र मेहेन्दी मात्र होईन विवाहित देखि अविवाहित महिलाहरुसम्म सोमवार व्रत बस्ने गर्दछन् । विवाहित महिलाहरुले आफ्नो पतीको दिर्घायुको कामना गर्दै र अविवाहित युवतीहरुले राम्रो वरको कामना सहित साउनको सोमवार व्रत बस्ने प्रचलन रहि आएको छ ।

धार्मिक कथन अनुसार साउन महिनामा भगवान् कृष्ण र राधाले रासलीला रचाएको र भगवान शिवको अति प्रिय महिना पनि साउन नै भएको हुनाले भगवान शिवलाई खुसी बनाउन साउन महिनामा शिवको बिशेष पूजा आराधना गर्ने र शिव मन्दिरहरुमा धाउने प्रचलन पनि छ ।

प्राकृतिक रूपले नै साउन महिना जलमय हुने हुँदा जताततै रमणीय दृश्य देख्न पाइन्छ । हरियो रंग, प्रेम र वातावरणको प्रतीक मानिन्छ । हरियो वस्त्रलाई प्रकृतिको सम्मानका रूपमा पनि लिन सकिन्छ । त्यसैले साउन महिनाभरि नै हरियो बस्त्र, हरियो चुरा, हरियो पोते र हरियो टीका लगाउने चलनलाई प्रकृतिको सम्मानसँग जोडेर हेर्न गरिन्छ । हरियो प्रेम र वातावरणको, रातो सौभाग्यको प्रतीक हो भने पहेंलो पवित्रताको । त्यसैले हुन सक्छ साउन महिनामा हरियो, पहेंलो र रातो सम्मिश्रण गरी लगाइन्छ । अझ हत्केलामा जति बढी गाढा मेहन्दीको रंग बस्यो उति नै श्रीमानको माया पाइन्छ भन्ने विश्वास छ ।

बदलिँदो परिस्थिति, परम्परा एवं पर्वहरूका स्वरूपमा परिवर्तन आएको छ । सोमबारको व्रत भावनाका अतिरिक्त रचनात्मक, केही प्रदर्शन र आधुनिकताको पर्याय बनेको छ । हातमा सुन्दर मेहन्दीको रचना गर्नु हाम्रो परम्पराको एक हिस्सा हो । श्रीमानप्रति प्रगाढ माया र पारिवारिक सुख दिने हुनाले हालको सन्दर्भमा अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि यो चाड मनाउन थालेका छन् । यसले महिलाहरूमा आपसी सद्भावना बढेको देख्न सकिन्छ । यो दाम्पत्य जीवनको खुसी र दीर्घायुका लागि गरिने व्रत हो । दाम्पत्य जीवनको खुसीका लागि श्रीमान–श्रीमतीबीच सामञ्जस्य एवं सद्भाव पनि उत्तिकै आवश्यक हुन्छ ।

साउने पानी छल्न महिलाहरु किन जान्छन् माइत ?

साउन महिनाको सोमबार हिन्दुधर्मालम्बीहरू यस माहिनालाई विशेष महिनाको रूपमा मनाउने गर्छन् । हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस दिन धेरै महिलाहरु भगवान शिवको व्रत बस्छन् । अझ साउनको सोमवारको त महत्व नै बढी छ ।
पौराणिक मान्यतामा शंकरको पूजा आराधनाका लागि सर्वश्रेष्ठ दिन महाशिवरात्री त्यसपछि साउन महिनामा आउने प्रत्येक सोमवार र हरेक महिनामा आउने सोमवारको महत्व छ । देवादिदेव महादेवलाई साउन महिना अति पृय रहेको मानिन्छ ।

यसै मान्यता अनुसार श्रद्धालु भक्तजनहरु यो महिना, खास गरेर सोमवारको व्रत-उपवास तथा पूजा आराधना एवं रूद्राभिषेक, कवच पाठ, जप आदि गरी शिवजीको विशेष कृपा प्राप्त गर्छन् । त्यसैले सनातन धर्ममा यो साउन महिना अति पवित्र मानी आएका छन् ।
त्यसै कारण श्रध्दालु भक्तजनहरु मांसाहार गर्ने भएता पनि यो महिनाभरि माछा मासु परित्याग गर्ने गर्छन् ।

साउन महिनामा महिलाहरु कामुक बन्छन् भन्ने मान्यता हिन्दू सभ्यतामा मात्रै होइन, युरोपको क्रिश्चियन सभ्यतामा पनि छ । यही साउन महिनामा सासू-बुहारीले सँगै बस्न नहुने भन्दै विवाहित महिला साउने पानी छल्न माइती जाने नेपाली समाजको परम्परागत मान्यता छ ।

विकीपेडियाका अनुसार मध्य युरोपका देशहरुमा समेत साउने सोमवारको खास महत्व छ । मध्य युरोप, खासगरी पोल्याण्ड, चेक गणतन्त्र तथा पूर्वी युरोपको युक्रेन लगायतका देशका क्रिस्चियनहरुमा सोमवारको दिन केटीहरु पानी पानी हुने दिन हो । सोमबारको दिन केटाहरुले केटीहरुलाई पानीले भिजाइदिने गर्छन् । अझ आफूलाई मन परेकी केटीलाई पानी छ्यापेर टाउकोदेखि पाइतालासम्म निथ्रुक्कै भिजाउन पाउँदा केटाहरुले जितेको सम्झिन्छन् । यस्तो संस्कारलाई वेट मण्डे अर्थात भिजेको सोमवार भनिन्छ ।

भिजेको सोमवार मनाउँदा सबै पाप नष्ट हुने विश्वास गरिन्छ । वर्षैभरिका सोमवार यसरी पानीले भिजाउने खेल खेलिने भने होइन ।हिन्दु महिलाहरुले साउनको सोमवारलाई विशेष रुपमा मनाउने गरेझैँ मध्य तथा पूर्वी युरोपका इसाइ धर्मावलम्बीहरुले खासगरी क्रिश्चियनहरुको पवित्र सप्ताह इस्टरको दोश्रो दिन अर्थात इस्टर मण्डेको दिन यसरी महिलालाई पानीले भिजाउने काम गर्छन् । केटाहरु बोतल तथा बाल्टिनमा पानी भरेर केटीहरुलाई लखेट्दै पानी खन्याइदिने गरिन्छ ।

साउन माया मौलाउने मौसम हो । यही समयमा हो, वृन्दावनमा राधा र कृष्णले रासलीला रचाएका । त्यसैले होला, साउनलाई मायाको मौसम भनिन्छ ।मौसम रसिलो हुनाले मायाको पनि रसपान गराउँछ । परदेशिएका प्रेमीको सम्झनाले सँगीलाई सताउँछ । भनिन्छ, साउनमा नगरेको माया अघि–पछि कहिले गरिन्छ र ! साउने झरीसँगै मायाको बर्षात् हुन्छ । त्यसैले त साउनमा रूझेर भए पनि मायाको पगरीमा बेरिएका हुन्छन्, ठिटाठिटीहरु । यही मौसममा शिवले पार्वतीलाई बेसरी रूचाएका थिए रे !

Related Articles

Back to top button
Close