Entertainment

श्रावण महिनाको मासिक राशिफल, यी ६ राशिका लागि लाभदायक छ श्रावण महिना

श्रावण महिना सूर्यको राशिसङ्क्रमणको समयमा कन्या लग्न, शुक्लपक्षको पञ्चमी तिथि र सिंह राशिको चन्द्रमा रहने छ । समग्र ग्रह परिवेश यस्तो रहने छ, सूर्यले श्रावण महिनाभरि कर्कट राशिमा विचरण गर्नेछन् । यस महिनामा चन्द्रमाका अतिरिक्त शुक्र ग्रहले मात्र राशि परिवर्तन गर्ने सङ्केत छ । सुरुमा सिंह राशिमा रहेको शुक्र ग्रह महिनाको १७ गतेदेखि कन्या राशिमा प्रवेश गर्ने छ । अन्य ग्रहहरूमध्ये मङ्गल र केतु ग्रह मकर राशिमा, बुध र राहु ग्रह कर्कट राशिमा, बृहस्पति ग्रह तुला राशिमा र शनिश्चर ग्रह धनु राशिमा अघिल्लो महिना जसरी नै विचरण गर्नेछन् । ग्रहसभामा राहु र केतु सदैव बक्र गतिमा रहने गर्दछन्, त्यसबाहेक यो महिना शनि ग्रहले महिनाभरि र बुध ग्रहले साउन ०३ गतेदेखि २५ गतेसम्म बक्र गति ग्रहण गर्नेछन् । बुध ग्रह सूर्यका साथमा रहेकाले यो महिनाको पूर्णअवधि बुधादित्य योग रहने छ भने राहु ग्रहसमेत सूर्यका साथमा रहने हुँदा पितृ दोष (ग्रहण योग) सिर्जना भएको महिना समेत छ । त्यस्तै विगत केही महिनादेखि मङ्गल र केतुले बनाएको युतिसम्बन्ध यो महिना पनि कायम हुनेछ ।

यस्तो ग्रह परिवेशलाई विश्लेषण गर्दा यो महिना जनतामा आपसी कलह र द्वेषको परिस्थिति सिर्जना हुनेछ । कतैकतै युद्ध, महामारी, रोग, अग्निभय, चोरी, डकैती जस्ता घटना भएको समाचार सुन्न पाइने छ । राता चिजबिजको दाम बढ्ने छ । अन्नको अभाव हुनेछ, महँगी ह्वात्तै बढ्नसक्छ । घिउ, तेल, बेसार, कपूर, चन्दन, नुन, गहुँ र मुसुरोको मूल्यमा बृद्धि हुनेछ । पशुचौपायामा रोगव्याधिको प्रकोप हुनेछ । मोटर, गाडी र विमानादिको दुर्घटनाको जोखिम यथावत छ । पश्चिमी क्षेत्रमा भूकम्प वा भुस्खलनको सङ्केत छ । महिनाको प्रारम्भमा ठाउँठाउँमा खडेरीको सामना गर्नुपर्छ । तर समग्रतामा वर्षाको राम्रो सङ्केत देखिन्छ । त्यस्तै महिनाको समाप्तितिर कतैकतै बाढी, पैह्रो र जनधनको नाश हुने घटना घट्न सक्छ । महिनाको मध्यभागमा वित्तीय क्षेत्र र सेयर कारोबारमा नचिताएको मन्दी छाउन सक्छ । सरकारको कामले जनता रुष्ट बन्नेछन्, प्रतिपक्षका किचलोले सरकारी काम प्रभावित बन्नसक्छ

२०७५ श्रावण महिनाको मासिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
साउन महिना तपाईंले कडा मिहिनेत र परिश्रम गर्ने समय हो । चौथो घरमा सूर्य र राहुको तथा दसौं घरमा मङ्गल र केतुको मिलन हुनु राम्रो होइन । एकातिर घरभित्रै विविध समस्या देखा पर्नेछन् । कुनै बाध्यताको काममा ह्वात्तै आर्थिक भारमा बृद्धि हुने सम्भावना पनि देखिन्छ । काम गर्दा छिटै थाकिन्छ, खिन्नता र डिप्रेसन बढ्ने सङ्केत छ, कार्य क्षमतामा कमी आउने छ । घरका बृद्ध सदस्यको स्वास्थ्यस्थितिमा उतारचढाव आउने छ । दुर्घटनाको जोखिम भएकाले सवारीसाधन हाँक्दा र बाटो काट्दा सचेत हुनुपर्छ । तर राशिस्वामी उच्चगृहमा रहेकाले यसको प्रभावले लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । उच्च पदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ, जसबाट लाभान्वित बन्नुहुनेछ । व्यवसायिक क्षेत्र र व्यापारको विस्तार हुनेछ । विपरीत परिस्थितिलार्ई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ । यस महिनामा कुनै अशुभता नहोस् भन्ने उद्देश्यले तपाईंले भगवान् शिव वा चन्द्रमाको उपासना गर्नु जाति हुनेछ । खासगरी तपाईंले यस महिनाको ०६, ०७, ०८, १६, १७, १८, २५ र २६ गते तपाईंले बढी सतर्कता अपनाएको जाति हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
तृतीय भावमा रहेको सूर्यको प्रभावले पारिवारिक जीवन सुखद रहनेछ । बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । घुमघाम र भ्रमणमा समय बित्नेछ, ससाना यात्रा फलदायी हुनेछन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना देखिन्छ । आपसी सम्बन्ध सुदृढ बन्नेछ । चौथो र पाँचौं भावमा रहने राशिस्वामी शुक्रको प्रभावले यो महिना बडो आनन्द र उमङ्गका साथमा बित्नेछ । पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू बढ्ने छन् । आमा वा कुनै बृद्ध स्त्रीबाट पूर्ण सहयोग प्राप्त हुनेछ । परोपकार र जनकल्याणको भावना विकसित हुनेछ । महिनाको उत्तरार्द्धमा पठनपाठनमा प्रगति हुनेछ, कुनै सृजनात्मक काम गर्नाले प्रतिष्ठा प्राप्त हुनेछ र सम्मानमा अभिबृद्धि हुनेछ । यात्राबाट लाभ मिल्नेछ, महत्त्वपूर्ण कार्य सिद्ध हुनेछ । धर्म र अध्यात्मतर्फ मन आकर्षित हुनेछ । पारिवारिक जीवन हर्षाेल्लासपूर्ण रहनेछ । परिवारमा कुनै माङ्गलिक कृत्य सम्पन्न हुनसक्छ । यस महिनामा अझ उत्कृष्ट फलप्राप्तिका निमित्त तपाईंले माता लक्ष्मीको उपासना गर्नु उचित हुनेछ । सामान्यतया यस महिनाको ०१, ०८, ०९, १०, १८, १९, २०, २७, २८, गते तपाईंका लागि अशुभ रहने छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दोस्रो भावमा रहेको सूर्यले शुभफल प्रदान गर्दैन । उता राशिस्वामी बुध पनि साउन ०३ गतेदेखि २५ गतेसम्म बक्री रहनाले सकारात्मक सङ्केत प्राप्त हुन सक्दैन । त्यसैले घरायसी समस्या र परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । आर्थिक दृष्टिले पनि यो समय सकारात्मक रहने छैन, कुनै ठूलो आर्थिक व्ययभार बढ्न सक्छ । सम्पत्तिको नोक्सानी हुनसक्छ, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ, । स्वास्थ्यतर्फ आँखा र मुखको क्षेत्र कमजोर छन् । बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ । यद्यपि राशिस्वामी बुधको प्रभावले केही राहत मिल्नेछ । सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । भ्रमणबाट लाभ मिल्नेछ । रहस्यात्मक विषय र गूढ विज्ञानमा रूचि जाग्ने छ । धनस्थानमा नै राहु ग्रहसमेत बसेकाले दैनिकी सञ्चालनका क्रममा धनसङ्ग्रहमा कठिनाइ हुनेछ । त्यसैले यो महिना शुभफल प्राप्ति होस् भन्ने उद्देश्यले तपाईंले माता सरस्वतीको उपासना गर्ने वा हरियो पन्ना रत्न धारण गर्नु बेस हुनेछ । सामान्यतया यस महिनाको ०२, ०३, ११, १२, १३, २०, २१, २२, २९, ३० र ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सामान्यतया सकारात्मक परिणाम प्रदान गर्ने समय आएको छ, यस अवधिमा तपाईं धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । द्वितीय भावमा रहेको राशिस्वामी चन्द्रमाका साथमा महिनाको प्रारम्भ भएको हुँदा भाग्यबल बढ्नेछ । सामाजिक क्षेत्रमा सुसम्बन्ध विकसित हुनेछ । तर प्रणय र प्रेमका लागि यो समय राम्रो होइन । प्रणयसम्बन्धमा तनावको सिर्जना हुनेछ, दाम्पत्य जीवनमा झैझगडा र किचलोको सम्भावना छ । आफ्नै राशिमा राहुको उपस्थिति भएकाले अचानक खर्च बढ्ने सङ्केत छ । भ्रम र शङ्का हानिकारक बन्नसक्छ । जोखिम मोलेर काम गर्ने प्रवृत्तिमा अङ्कुश लगाउनु राम्रो हुनेछ । मौसमी रोगको प्रभाव पर्नसक्छ, सानातिना रोगले सताउन सक्छ । यस महिनालाई अझ उत्कृष्ट बनाउन सूर्य ग्रह र नाग देवताको पूजाआजामा ध्यान दिनु राम्रो हुनेछ । सामान्यतया यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २३, २४ र ३१ गते तपाईंका लागि हानिकारक बन्नसक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गरी अघि बढ्नु जायज हुनेछ । बाह्रौं भावमा राशिस्वामी सूर्यको उपस्थिति भएकाले गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ, त्यसैले कुनै निर्णय लिनुपूर्व राम्रो सोचविचार गर्नु आवश्यक छ । खर्चको मात्रा बढ्ने छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल हुनेछैन । एकआपसमा तनाव उत्पन्न हुनसक्छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । पञ्चमेश मङ्गल छैठौं भावमा रहनु र भाग्येश बृहस्पति सातौं घरमा रहनु शुभताको सङ्केत हो । परिस्थिति विपक्षमा रहे पनि यस समयमा सुखभोग गर्न पाइने छ । पेसागत र व्यवसायिक परिस्थतिमा परिश्रमबमोजिम सुधार आउने छ । धनसम्पत्तिको लाभ हुनेछ । समग्रमा नराम्रो समय छैन, यद्यपि बाटो काट्दा र वाहनादिमा यात्रा गर्दा सावधान हुनु बेस हुनेछ । सूर्यको दुष्परिणाम शान्त तुल्याउन तपाईंले यस महिनामा पिता वा बृद्ध अभिभावकको आशीर्वचन ग्रहण गर्ने र असहाय बृद्धबृद्धाको सेवासुश्रुषामा समय र धन व्यय गर्नु बुद्धिमानी हुनेछ । विशेषगरी यस महिनाको महिनाको ०६, ०७, ०८, १६, १७, १८, २५ र २६ गते तपाईंका लागि अशुभ रहने छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
राज्यस्थानमा रहेको राशिस्वामी बुध र सूर्यको प्रभावले यो महिना इच्छा र आकाङ्क्षा पूर्ण हुने समय छ । आफ्नो व्यापार/व्यवसायलाई बढाउने र चम्काउने अवसर मिल्नेछन् । उच्चकोटिको दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ, प्रणय सम्बन्धका निमित्त राम्रो समय छ । साथीभाइ, इष्टमित्र र नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । किनमेल, कारोबार, करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । लामो यात्रा सुखद र सफल हुनेछ । तर राशिस्वामी बुध महिनाको अधिकतम समय बक्री रहने भएकाले यतिबेला बुद्धि र विवेकले काम नगर्न सक्छ, त्यसैले यस समयमा सावधान हुनु आवश्यक छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । यात्राबाट थकित बन्नुहुनेछ । भौतिक सुखसुविधाका सामाग्री किनमेल गर्न धनखर्च हुनेछ । भोगविलास र मनोरञ्जनात्मक क्षेत्रमा नकारात्मक ऊर्जा हाबी भएको समय छ । यस महिनालाई अझ शुभ बनाउन तपाईंले मातृशक्तिको उपासना गर्नु राम्रो हुन्छ । सामान्यतया यस महिनाको ०१, ०८, ०९, १०, १८, १९, २०, २७ र २८ गते तपाईंका लागि अशुभ रहने छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अत्यन्त क्रियाशील र व्यस्त रहने अनि कर्मक्षेत्रको परीक्षणको समय हो, यो साउन महिना । आत्मविश्वासको मात्रा बढ्ने छ । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । नयाँनयाँ उद्योगधन्दा र व्यवसायको प्रारम्भ हुने वा नयाँ रोजगारीको सङ्केत छ । वाहनादि र विदेशबाट लाभ प्राप्त हुनेछ । आम्दानीको मात्रा बढ्ने छ । अधिकतम आर्थिक समस्याहरू हल हुनसक्छन् । हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । पारिवारिक वातावरण संतोषप्रद रहनेछ । घरमा कुनै शुभ कृत्यको आयोजना हुनसक्छ । तर चौथो भावमा बसेको मङ्गल र केतुको युतिसम्बन्धले मानसिक उल्झन र तनावबाट गुज्रने परिस्थिति आउने छ । दाजुभाइसँगको सम्बन्धमा चिसोपन देखिने छ । गुप्त कारोबार वा गतिविधिका क्रममा हानि ब्यहोर्नु पर्ने हुन्छ । आकस्मिक धनहानिको सङ्केत पनि छ । यस महिनालाई अझ शुभ फलवान् बनाउन तपाईंले मङ्गल कवच, हनुमान् चालिसा वा भगवान् गणेशको कुनै मन्त्र वा स्तुतिको दैनिक पाठ गरेमा राम्रो हुनेछ । खासगरी तपाईंले ०२, ०३, ११, १२, १३, २०, २१, २२, २९, ३० र ३१ गते जुनसुकै काममा सचेतता अपनाएको जाति हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मिश्रित परिणाम प्राप्त हुने महिना छ । राशिस्वामी मङ्गल तृतीय भावमा रहेकाले सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले समेत राम्रो छ । मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । यात्राबाट लाभ मिल्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । नातागोता, खासगरी दाजुभाइका कारण खुसीको वातावरण सिर्जना हुनेछ । जग्गाजमिनसँग सम्बद्ध कारोबारबाट लाभ प्राप्त हुने सम्भावना छ । शत्रु र प्रतिस्पर्धीले सामना गर्न सक्दैनन् । गरिएका प्रयासमा सुनिश्चित सफलता प्राप्तिको योग छ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । तर पञ्चमेश बाह्रौं भावमा रहेकाले लामो यात्रा सफल हुनेछैन । मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नसक्छ । सन्ततिका काममा खर्चबृद्धि हुनेछ । यो महिनालाई अझ प्रभावकारी बनाउन तपाईंले कुलदेवताको पूजाआजा वा पितृकर्म गर्दा राम्रो हुनेछ । सामान्यतया यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २३, २४ र ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
राम्रो समय छैन, अचानक विविध समस्या देखा पर्न सक्छन् । पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । लामो समयसम्म अस्वस्थ हुने आशङ्का छ त्यसैले खानपान, आहारविहार र स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, त्यस्तै खराब र अनैतिक मानिने कामभन्दा टाढा रहनु नै कल्याणकारी हुनेछ । महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला । व्यापारमा घाटा हुने वा धनमाल हराउने/ चोरी हुने सङ्केत छ । तर अत्तालिई हाल्नु पर्दैन, राशिस्वामी बृहस्पति राज्यस्थानमा रहेकाले यो समय राम्ररी नै बित्नेछ । विदेश अथवा दूरदराजमा रहेको स्थानमा बसोबास गर्ने व्यक्तिहरूसितको सम्बन्ध सुमधुर रहने छ । प्रतिस्पर्धा वा परीक्षामा सहभागी हुँदा सफलता आर्जन हुनेछ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ । यस महिनाको शुभफलमा बृद्धि गर्न तपाईंले दैनिक रूपमा भगवान् गणेशलाई दुबो चढाउनु राम्रो हुन्छ । सामान्यतया यस महिनाको ०६, ०७, ०८, १६, १७, १८, २५ र २६ गतेका दिन तपाईंले कुनै जोखिमयुक्त काम नगरेको जाति हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
राशिस्वामी शनिश्चरको बक्रता र सप्तम भावमा सूर्यको उपस्थिति भएकाले यस समयलाई त्यति बलवान् मान्न सकिंदैन । मानसिक रूपले तनावग्रस्त र अस्वस्थ हुने सम्भावना भएकाले यो महिना एउटा कठिन कालखण्ड हो भन्दा अत्युक्ति हुँदैन । कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । साथीभाइ र कामदारले धोका दिनसक्छन्, उता पति वा पत्नीले आफ्ना कुरा नबुझ्नाले पनि अप्ठ्यारोमा पर्न सक्नुहुन्छ, त्यसैले घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । तपाईंको राशिमा मङ्गल र केतुको युतिसम्बन्ध छ, त्यसैले जत्तिवेला पनि गरम मिजास हाबी हुने खतरा हुन्छ । जोखिमपूर्ण र जुवाजन्य काममा दिलचस्पी नदिनु नै बेस हुनेछ । यद्यपि पञ्चमेश बुध सातौं भावमा रहेकाले विद्वानहरूका साथमा घुलमिल हुने मौका आउने छ । विपरीत लिङ्गीहरूबाट सहायता मिल्नेछ । कुनै प्रतिस्पर्धामा समेत सफलता हाासिल हुनसक्छ । तपाईंले साउन महिनामा एउटा रुद्रीपूजा लगाउनु वा भगवान् शङ्करको उपासना गर्नु लाभदायी रहने छ । यस महिनाको ०१, ०८, ०९, १०, १८, १९, २०, २७ र २८ गतेका दिन तपाईंले सतर्क भएर काम गर्ने समय हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यो महिना उपयोगी देखिन्छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । जीवनसाथी वा प्रेमीप्रेमिकाका बीचमा सम्बन्ध सुमधुर रहने छ । पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । तर पनि राशिस्वामी शनिश्चरको बक्रताका कारण प्रतिकूल परिस्थिति र कठिनाइको सामना गर्नु पर्नेछ । स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । मौसमी रोगको प्रकोप छ, खर्चको मात्रामा बृद्धि भइरहन्छ । खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । कामको बोझ बढ्नाले थकानको अनुभूति हुनेछ । अनियमित र बेठिक कामका कारण चिन्तित बन्नु पर्नेछ । सनक र उन्मादबाट प्रेरित भएर गरेको कामकाजबाट हानि पुग्नेछ । समय लाभदायी नै रहे पनि सारांशमा यस अवधिमा मानसिक उल्झन र समस्यामा केन्द्रित भइने छ, त्यसैले अर्काका सल्लाह, सुझाव र आशयलाई सुन्ने बानीको विकास गर्नु राम्रो हुन्छ । विपरीत परिस्थिति आफ्नो पक्षमा ल्याउन तपाईंले यो महिना राशिस्वामी शनिश्चरको उपासनामा जोड दिनु राम्रो हो । सामान्यतया यस महिनाको ०२, ०३, ११, १२, १३, २०, २१, २२, २९, ३० र ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ । भाग्येश मङ्गल राज्यस्थानमा रहेकाले मित्र र सहयोगीहरूबाट लाभ मिल्नेछ । बहुप्रतीक्षित इच्छा र आकाङ्क्षाले पूर्णता पाउने छन् र लामो दूरीको यात्रा लाभदायक रहने छ । विलासिताका सामग्री र अन्य वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ, तर घरायसी र पारिवारिक वातावरण सुखद हुनेछ । यद्यपि प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन । किनभने तपाईंको राशिस्वामी बृहस्पति अष्टम भावमा देखिन्छ, मस्तिष्कलाई आराम हुनेछैन । रहस्य, अध्यात्म, गूढविज्ञान र परामनोविज्ञानका विषयमा रूचि बढ्ने छ वा यी क्षेत्रको कुनै अनुभव प्राप्त हुनेछ । मित्र र सहयोगीले आफ्नो बाचा पूरा गर्ने छैनन् । यो महिनामा शुभफलमा बृद्धि गर्न तपाईंले कुलदेवता वा पितृदेवताको उपासना गर्नु राम्रो हुने भएकाले तपाईंले पितृअधिकार पाउनु भएको छ भने साउन महिनामा कुनै तीर्थस्थलमा गएर श्राद्धादि सम्पन्न गर्नु उचित हुनेछ । समग्रमा महिना राम्रै छ, यद्यपि यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २३, २४ र ३१ गते अशुभ रहने छन्

Related Articles

Back to top button
Close