International

अमेरिकाले बनाइरहेको कोरोना खोप ४५ जनामा परीक्षण, यस्तो चमत्कार भएपछि विश्वभर खुसियाली

सारा विश्व प्राणघातक कोरोना भाइरसविरुद्ध लडीरहँदा यता अमेरिकाबाट भनेको खुसीको खबर आएको छ । भने अमेरिकी बायोटेक कम्पनी ‘मोडर्ना’ ले ४५ जना स्वस्थ व्यक्तिमा गरेको कोरोना खोप परीक्षणले रोग प्रतिरोधक क्षमता बढाएको अनुसन्धाताहरूले बताएका छन्। ‘द न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिन’ मा मंगलबार प्रकाशित रिपोर्टअनुसार कोरोना भाइरसविरूद्धको उक्त सम्भावित खोप सुरक्षित देखिएको छ।

यो मोडर्नाले गरेको दोस्रो क्लिनिकल परीक्षण हो। यसअघि मार्च महिनामा पहिलो परीक्षण गरिएको थियो, जसमा आठ जना स्वस्थ व्यक्ति सामेल थिए। पहिलोपटक गरिएको उक्त मानवीय परीक्षणको नतिजा पनि सुरक्षित देखिएको र रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको कम्पनीले जनाएको थियो।

कम्पनी अब तेस्रो चरणको मानवीय परीक्षण गर्ने तयारीमा छ, जुन पहिलो र दोस्रोभन्दा बृहत स्तरको हुनेछ। यही जुलाई २७ बाट सुरू हुने तेस्रो चरणको क्लिनिकल परीक्षणमा करिब ३० हजार व्यक्तिलाई खोप लगाइनेछ। यसबाट जे नतिजा निस्कन्छ, त्यसले कोरोना भाइरसविरूद्ध जारी वैज्ञानिक अनुसन्धानको भविष्य निर्धारण गर्नेछ।

मोडर्नाले एलर्जी तथा सरूवा रोगसम्बन्धी राष्ट्रिय अनुसन्धान संस्थाको सहयोगमा यो खोप परीक्षण गरेको हो। तीनै चरणको परीक्षणबाट सकारात्मक नतिजा आयो भने यो वर्षको अन्त्य वा २०२१ को सुरूबाट व्यापक प्रयोगमा ल्याइने मोडर्नाले जनाएको छ।

कोरोना महामारीसँग लड्न यो खोपले काम गर्छ कि गर्दैन भनेर छिटोभन्दा छिटो नतिजामा पुग्न संक्रमित बिरामी धेरै भएका ‘हट स्पट’ मा परीक्षण गर्नुपर्छ। मोडर्नाले आफ्नो तेस्रो चरणको परीक्षण त्यस्तै ठाउँमा गर्न खोजेको छ, जहाँ मान्छेहरू बढ्ता जोखिममा छन्।

चीनको वुहानबाट सुरू भएर संसारभरि फैलिएको कोरोना भाइरसले अहिलेसम्म झन्डै १ करोड ४० लाख जना संक्रमित भइसकेका छन् भने ५ लाख ९३ हजारको ज्यान गएको छ। पछिल्लो समय अमेरिका, ब्राजिल र भारतमा यो भाइरस व्यापक फैलिरहेको पाइन्छ। यसले विश्व अर्थतन्त्र ठप्प छ।

महामारी रोक्न र मान्छेलाई सामान्य अवस्थामा फर्काउन अमेरिका, युरोप, चीन लगायत विभिन्न मुलुकका दर्जनौं कम्पनी खोप बनाउने अनुसन्धानमा जुटेका छन्। प्रमाणित खोप र सुधारिएको उपचार प्रणालीले मात्र महामारीसँग लड्न मद्दत गर्ने वैज्ञानिकहरू बताउँछन्। एउटा कम्पनीले मात्र संसारभरिलाई चाहिने अर्बौं डोज उत्पादन गर्न नसक्ने हुँदा एकभन्दा बढी खोप आवश्यक रहेको वैज्ञानिकहरूको भनाइ छ।

‘हामी सबै सुरक्षित नभएसम्म संसारका कोही सुरक्षित रहन सक्दैनौं,’ न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका भाइरल विशेषज्ञ डा. एन्जेला रसमुसेनले भनिन्, ‘महामारीले हामी मात्र प्रभावित छैनौं। संसारका सबै जना प्रभावित छन्।’

कम्पनीले खोपको तीनवटा डोज परीक्षण गरेको छ- न्यून, मध्यम र उच्च। प्रारम्भिक नतिजा न्यून र मध्यम डोजको हो। मेडिकल जर्नलमा प्रकाशित रिपोर्टअनुसार दोस्रो चरणको परीक्षणमा सामेल ४५ जना स्वस्थ व्यक्तिहरू १८ देखि ५५ वर्ष उमेरका थिए। उनीहरूलाई २८ दिनको अन्तरमा दुईवटा खोप लगाइएको थियो।

दोस्रो खोप लगाइसकेपछि ती व्यक्तिको रगतमा ‘एन्टिबडी’ विकास भएको थियो। उक्त एन्टिबडीलाई प्रयोगशाला परीक्षण गर्दा त्यसले शरीरभित्र कोरोना भाइरस फैलिनबाट रोक्न सक्ने देखिएको छ। कोरोना संक्रमित भएर निको भएका व्यक्तिको रगतमा जस्तो खालको एन्टिबडी पाइएको छ, यो खोप लगाएपछि पनि त्यस्तै एन्टिबडी विकास भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार खोप लगाइएकामध्ये आधाभन्दा बढीमा केही ‘साइडइफेक्ट’ देखिएको थियो। खासगरी खोप लगाइएको पाखुराको भाग दुख्नुका साथै रिंगटा लाग्ने, टाउको दुख्ने, जीउ दुख्ने र जाडो हुनेजस्ता लक्षण देखिएका थिए। केहीलाई भने ज्वरो पनि आएको थियो।

थोरै डोजको खोप लगाइएको एक जना व्यक्तिको शरीर सुन्निएपछि उसलाई परीक्षणबाट झिकिएको थियो। यी कुनै पनि साइडइफेक्ट गम्भीर नभएको अनुसन्धाताहरूले बताएका छन्।

भाइरल विज्ञहरू भने यो परीक्षणको नतिजा सकारात्मक भए पनि यसलाई प्रारम्भिक मात्र मान्छन्। ‘शरीरमा एन्टिबडी विकास भयो भन्दैमा भाइरस संक्रमण हुँदै हुँदैन भन्ने ग्यारेन्टी छैन,’ डा. रसमुसेनले भनिन्, ‘यो खोपले संक्रमणबाट पूरै सुरक्षित नगरे पनि यसले कोरोना लागेर सिकिस्त हुने वा ज्यान जाने डर कम हुन सक्छ।’

उत्पादक कम्पनी मोडर्नाले यो खोप मुसाहरूमा पनि परीक्षण गरेको थियो। यस क्रममा सबभन्दा पहिला केही मुसालाई खोप लगाइएको थियो। त्यसपछि तिनै मुसालाई कोरोना भाइरसबाट संक्रमित गराइयो। यसरी संक्रमित गराउँदा मुसाको जीउभरि भाइरस फैलिनबाट रोकिएको थियो। खोप लगाइएका मुसामा पनि भाइरससँग लड्न एन्डिबडी विकास भएको कम्पनीले जनाएको छ।

यस्तै कोरोना भाइरसविरुद्ध खोप निर्माणमा अरूभन्दा अगाडि रहेको बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी आस्ट्राजेनेकाले यसै साताभित्र सम्भावित खोप घोषणा गर्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

रोयटर्सले बेलायती टेलिभिजन नेटवर्क ‘आइटिभी’ का राजनीतिक सम्पादक रोबर्ट पेस्टनलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो। ‘अक्सफोर्ड विश्वविद्यालय र आस्ट्राजेनेकाले परीक्षण गरिरहेको कोरोना खोपमा छिट्टै (सम्भवत भोलि नै) सकारात्मक खबर सुन्न पाइने छ,’ रोयटर्सले उद्धृत गरेको पेस्टनको ब्लगमा उल्लेख छ।

तेस्रो चरणको मानवीय परीक्षण क्रममा रहेको यो खोपलाई लिएर निर्माताहरू उत्साहित छन्। उनीहरूले यसै महिना अहिलेसम्मको परीक्षणबाट आफूहरू उत्साहित रहेको प्रतिक्रिया दिएका थिए। यसले परीक्षणमा सहभागी व्यक्तिहरूमा कोरोना भाइरसविरूद्ध प्रतिरोधक क्षमता बढाउन सकारात्मक काम गरेको उनीहरूले बताएका छन्।

पहिलो चरणको परीक्षण नतिजा जुलाई अन्त्यसम्म सार्वजनिक हुने रोयटर्सले लेखेको छ। पहिलो चरणको क्लिनिकल परीक्षण क्रममा बेलायतका १ हजार १ सय जनालाई खोप लगाइएको थियो। यसको नतिजा ‘ल्यान्सेट’ भन्ने मेडिकल जर्नलले सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

अक्सफोर्ड विश्वविद्यालयकी प्रवक्ताले नतिजा प्रकाशन निम्ति मेडिकल जर्नलको निर्णय कुरिरहेको बताएकी छन्। ‘कहिले प्रकाशन हुन्छ भनेर अहिल्यै भन्न सकिन्न,’ उनले रोयटर्सलाई भनेकी छन्।

संसारभरि कोरोना भाइरसविरूद्ध सयभन्दा बढी खोप परीक्षण भइरहेका छन्। तीमध्ये अक्सफोर्ड विश्वविद्यालय र आस्ट्राजेनेकाको अनुसन्धानलाई अग्रणी मानिएको छ। यो अनुसन्धानलाई तीव्रता दिन अमेरिकाले समेत एक अर्ब २० करोड डलरसम्म उपलब्ध गराउने निर्णय गरेको थियो। यसलाई कोरोना खोप विकास गर्ने बेलायती परियोजनामा अमेरिकी लगानीका रूपमा लिइएको छ।

यो लगानीको बदलामा अमेरिकाले परीक्षण सफल हुनेबित्तिकै ३० करोड वटा खोप आफ्नो निम्ति बुक गरेको छ। महामारीको पछिल्लो अवस्था हेर्दा संसारभरि अर्बौं डोज खोप आवश्यक पर्नेछ। विश्वव्यापी माग हेरेर बेलायती–स्वीडिस कम्पनी आस्ट्राजेनेकाले अनुसन्धान सँगसँगै उत्पादन क्षमता विस्तार गर्न विभिन्न देशका सरकार तथा संस्थाहरूसँग सम्झौता गरेको छ।

कम्पनीको उत्पादन क्षमता अहिले नै एक अर्ब डोज छ भने पहिलो चरणमा कम्तिमा ४० करोड डोज उत्पादन गर्नेछ। पहिलो खेपको डेलिभरी सेप्टेम्बरबाट सुरू हुने कम्पनीले दाबी गर्दै आएको छ।

विश्वभरि सस्तो र सहज रूपमा खोप उपलब्ध होस् भनेर आस्ट्राजेनेकाले संसारका सात देशबाट एकैचोटि उत्पादन गर्ने लक्ष्य राखेको छ। यसका लागि विभिन्न देशका औषधि उत्पादक कम्पनीहरूसँग सम्झौता प्रक्रिया अघि बढेको छ। यसमा भारतको सेरम इन्स्टिच्यूट अफ इन्डिया पनि एक हो। उक्त कम्पनीले गरिब तथा विकासोन्मुख देशहरूमा खोप उपलब्ध गराउनेछ।

अमेरिकाको बायोटेक कम्पनी ‘मोडर्ना’ ले पनि आफूले परीक्षण गरिरहेको खोप सुरक्षित रहेको र भाइरसविरूद्ध प्रतिरोधात्मक क्षमता बढाउन सफल भएको जनाएको छ। मोर्डनाले क्लिनिकल परीक्षण क्रममा ४५ जना स्वस्थ व्यक्तिलाई कोरोनाविरूद्ध खोप दिएको थियो। मोर्डनाले गत मे महिनाबाट दोस्रो चरणको परीक्षण सुरू गरेको हो। तेस्रो चरणको परीक्षण जुलाई २७ बाट सुरू हुने कम्पनीले जनाएको छ ।

Related Articles

Back to top button
Close