News

अब उड्ने छैनन् चिनियाँ जहाज, ६ वटा चिनियाँ जहाज ‘ग्राउन्डेड’

काठमाडौं । सञ्चालन घाटा बढ्दै गएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनसँग खरिद गरेका छ वटा चिनियाँ जहाज यसै सातादेखि ‘ग्राउन्डेड’ भएका छन् ।

बढ्दो दायित्वबीच निगम सञ्चालक समितिले गत असार १६ गते चिनियाँ जहाज सञ्चालनमा नल्याउने निर्णय गरेसँगै नेपाली आकाशमा चिनियाँ जहाजको उडानमा अहिलेलाई पूर्णविराम लागेको हो ।

आन्तरिक उडानमा पनि निगमलाई प्रतिस्पर्धी बनाउने र विकट क्षेत्रमा नियमित उडान गर्ने उद्देश्यसाथ २०७१ वैशाखमा निगमले चीनमै निर्मित ५६ सिट क्षमताका दुई वटा एमए ६० र १७ सिट क्षमताका चारवटा वाई १२ जहाज ल्याएको थियो ।

यसमध्ये एउटा एमए ६० र एउटा वाई १२ जहाज निगमको अनुदानमा र बाँकी चारवटा जहाज चीनकै एक्जिम बैङ्कसँग ऋण लिएर निगमले साढे चार अर्ब रुपियाँमा खरिद गरेको थियो ।
पहिलो पटक २०७१ वैशाखमा चिनियाँ जहाज भित्रिएदेखि नै बारम्बारको प्राविधिक समस्या र आर्थिक भारका कारण निगमले यसको नियमित उडान गराउन भने सकेको थिएन ।

पछिल्लो पटक निगमले यी जहाज सञ्चालनबाट वार्षिक ३० करोड रुपियाँ घाटा बेहोर्नुपरेको निष्कर्ष निकाल्दै अबदेखि सञ्चालनमा नल्याउने निर्णय गरेको हो । गोरखापत्र दैनिकबाट

Related Articles

Back to top button
Close