News

भक्तपुरमा स्कुटरको ठक्करबाट महिलाको मृत्यु

काठमाण्डौ – चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नंको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुर–चाँगु सडक वान्टीमा ठक्कर दिँदा पैदलयात्रीको आज मृत्यु भएको छ । स्कुटरको ठक्करबाट भनपा–२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुृरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

स्कुटरले उहाँलाई हिजो दिउँसो करिब २ः२० बजे ठक्कर दिएको थियो । प्रहरीले घाइतेलाई उपचारका लागि भक्तपुर अस्पताल लगेकामा त्यहाँ उपचार हुन नसकेपछि वीर अस्पताल ट्रमा सेन्टर पठाइएको र त्यहाँ पनि उपचार हुन नसकेपछि राति न्यूरो अस्पताल बाँसबारी पठाइएकामा उपचारकै क्रममा आज बिहान ८ बजे मृत्यु भएको प्रनाउ गिरीले जानकारी दिनुभयो । प्रहरीले स्कुटर चालक चाँगुनारायण नपा–६ छालिङका २२ वर्षीय आशीष कार्कीलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको जानकारी दिएको छ ।

ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

पर्वतको मोदी गाउँपालिका–६ तिलाहारस्थित रातमाटामा ट्र्याक्टर दुर्घटना हुँदा सोही ट्र्याक्टरका सहचालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोदी गाउँपालिका–५ बाजुङका २१ वर्षीय विजय नेपाली छन् । मोदी गाउँपालिका–७ राम्जा देउरालीबाट वडा नं २ देउपुरतर्फ आउँदै गरेको ग१त ६२७९ नम्बरको खाली ट्र्याक्टर मङ्गलवार राति १०ः३० बजे अचानक सडकबाट तल खस्दा नेपालीको मृत्यु भएको हो ।

अन्दाजी १२ मिटर तल खसेको ट्र्याक्टरले किचेर नेपालीको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको टोलीले ट्र्याक्टरका चालक मोदी गाउँपालिका–२ का सन्तोष विकलाई नियन्त्रणमा लिई थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ । कच्ची भिरालो बाटोमा तीव्र गतिमा गुडाएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीको छ ।

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा सोमबार साँझ ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१त ७४०२ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको स४प ७२१० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–३ निवासी २१ वर्षीय देविन्द्र यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते चालक यादवलाई उपचारका लागि कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी मोटरसाइकमा पछाडि सवार धनुषाको धनुषाधाम निवासी २३ वर्षीय बालकृष्ण यादव घाइते हुनुभएको थियो । उहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ ।

Related Articles

Back to top button
Close