News

हेलिकप्टर चार्टर्ड गरेर थप उपचार गर्न काठमाडौं आएपछि कोरोना पुष्टि

गत बुधबार वीरगञ्जको प्रभु अस्पतालमा उपचाररत् एक बिरामी हेलिकप्टर चार्टर्ड गरेर काठमाडौं आए।

कोरोना रिपोर्ट नेगेटिभ आए पनि थप स्वास्थ्यमा समस्या देखिएको भन्दै उनलाई अस्पतालले काठमाडौं ‘रिफर’ गरिदिएको थियो।

उनलाई एअर डाइनेस्टीको हेलिकप्टरबाट महाराजगञ्जस्थित टिचिङ अस्पताल पुर्‍याइयो। बेड अभाव रहेको भन्दै उनलाई पाटन अस्पताल जान भनियो।

अस्पतालका कोरोना फोकल पर्सन डा. सन्तकुमार दासले भने, ‘उहाँ बुधबार सवा चार बजे टिचिङ आउनुभएको थियो। बेड खाली नभएकोले हामीले उहाँलाई पाटन अस्पताल पठायौं।’

पाटनबाट पनि उनी मेडिसिटी अस्पताल पुगे।

मेडिसिटी अस्पतालमा उपचाररत् उनमा पुनः परीक्षण गर्दा बिहीबार कोरोना पोजेटिभ देखियो। त्यसपछि राति १० बजे नै अस्पतालले उनलाई फेरि पाटन अस्पताल ‘रिफर’ गरिदियो।

‘उहाँलाई कोरोना पोजेटिभ देखिएपछि कोरोना हब अस्पताल पाटन पठायौं,’ मेडिसिटी अस्पतालका प्रबन्धक विजय रिमालले सेतोपाटीसँग भने।

उनले बिरामीको स्वास्थ्य अवस्थामा सुधार आएको जनाए।

उनलाई अस्पतालमा अक्सिजनको सहायतामा उपचार गरिएको थियो। अहिले भने उनी पाटन अस्पतालमा भर्ना भएका छन्।

सुरूमा वीरगञ्जको कोरोना अस्पताल गण्डकमा उनलाई भर्ना गरिएको थियो। भर्ना गर्नुअघि नै उनले कोरोना परीक्षणको लागि नारायणी अस्पतालमा स्वाब दिएका थिए। पछि उनको कोरोना रिपोर्ट पनि नेगेटिभ देखियो।

त्यसपछि अस्पतालमा राम्रो उपचार नपाएको भन्दै उनी आफैंले प्रभु अस्पताल जाने निधो गरे।

गण्डक अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहका अनुसार ती पुरूष सोमबार अस्पतालमा भर्ना भएका थिए।

‘उहाँलाई निमोनियाको पनि समस्या थियो। आकस्मिक कक्षमा राखेर उपचार गरिएको थियो,’ डा. सिंहल भने,’उहाँले आफैं कोरोना परीक्षणका लागि स्वाब दिनुभएको रहेछ। मंगलबार रिपोर्ट आउँदा नेगेटिभ देखियो। त्यसपछि उहाँ यहाँबाट डिस्चार्ज मागेर प्रभु अस्पताल जानुभएको थियो।’

उनले ती पुरूषमा निमोनियाको समस्या रहेको सुनाए।

उनलाई आकस्मिक कक्षमा राखेर उपचार गरिएको थियो।

प्रभु अस्पताल भर्ना भएपछि उनको स्वास्थ्यमा सुधार देखिएन।

अस्पतालका मेडिकल डाइरेक्टर डा. अभिषेक अर्यालले सेतोपाटीसँग भने, ‘उहाँमा श्वासप्रश्वासमा समस्या देखिएपछि काठमाडौं ‘रिफर’ गरिएको हो।’

Related Articles

Check Also
Close
Back to top button
Close