News

ज्यानमै ५५ लाखको सुन

काठमाडौं । फेसन वा गहनामा सोख भएकाले हातमा औँठी र गलामा सिक्री लगाउनु सामान्य नै हो तर, पुरुषले हात, नाक, कानसँगै अनुहारका विभिन्न भागमा सुनका गहना लगाएको कमै देखिन्छ ।गहनाका सोखिनमध्ये एक हुन्, काठमाडौंको जोरपाटी निवासी सुवास घिसिङ । सुवासले ५५ तोलाभन्दा बढीका सुनका गहना लगाएका छन् । अझ भन्छन्, ‘अझै धेरै सुन लगाउने रहर छ ।’धनकुटाको पाख्रीबासबाट २०४६ सालतिर सुन जोड्ने रहर बोकेर काठमाडौं झर्दा पनि उनको कानमा सुन थियो, आमाले लगाई दिएका दुईवटा मुन्द्रा

त्यसैलाई बीउका रूपमा स्वीकारेर टन्नै सुन लगाउने धोकोसहित थाले उनले संघर्ष ।संघर्ष गरेर कमाएको पैसाले सुन किन्न थाल्दा ८–१० हजारमा एक तोला आउँथ्यो । पछिल्लो पटक अर्थात् कोरोना सुरु हुनुअघि उनले सबैभन्दा महँगोमा प्रतितोला ६० देखि ६५ हजारसम्म तिरे ।‘जब पैसा जम्मा हुन्छ र आवश्यक ठान्छु, तब सुन किनिहाल्छु,’ उनी भन्छन्, ‘मूल्य कति भनेर खासै हिसाब राख्दिनँ ।’यतिखेर प्रतितोला सुनको मूल्य लाख पुगेको छ । ५५ तोला त ज्यानमै भएका उनी फुरुंग पर्नुपर्ने हो । तर, खासै खुसी छैनन् ।

भन्छन्, ‘म त सुन बेच्ने हैन किन्ने मान्छे, किन खुसी हुनु ! अझै थुप्रै लगाउने इच्छा बाँकी नै छ ।’अनुहारभरि देखिने गरी सुन पहिरिएर बस्ने गरेकाले उनलाई धेरैले ‘सुन मान्छे’ पनि भन्छन् । उनले आफ्नो गाडीमा समेत ‘गोल्डम्यान’ लेखाएका छन् । उनी आफै चाहिँ आफूलाई सुन मान्छे मान्दैनन् । यसको कारण रहेछ । ‘शरीरका धेरै भाग अझै खाली छन्, कसरी सुन मान्छे भन्नु ?’ उनले भने ।अनुहारभरि जताजतै छेडेर सुन लगाएका कारण पहिले उनीसँग कतिपय मानिस डराउँथे । तर, पछिल्लो समय त्यस्तो छैन रे ।

डराउनुको सट्टा उनका अगाडि जिज्ञासासहित झुम्मिने पो बढेछन् ‘अहिले त देख्ने बित्तिकै सेल्फी खिच्नेको भीड लाग्छ,’ उनले भने, ‘मेरो के जान्छ र ? रमाएर पोज दिने गरेको छु ’आफूले लगाएको सुन देखेर युवक आश्चर्यमा पर्ने, कतिपय महिला लोभिने गरेको उनको अनुभव छ । ‘सुन मागेर पाइँदैन,’ कसैले मागेन त भन्ने प्रश्नको जवाफमा उनले भने, ‘यो त किन्नै पर्छ ।’उनले राजा मिदासको कथा पढेका छैनन् न त उनी मिदासजस्ता लोभी नै देखिन्छन् । उनले सुन बेचेरै भए पनि सन्तानलाई उच्च शिक्षा दिलाउन लागिपर्ने बताए

‘असली सुन भनेको त सन्तान हुन्,’ उनको परिपक्व बुझाइ छ, ‘मैले लगाएको त रहरको सुन मात्र हो ।’भोलि आफू मरेर गएपछि पनि सुन मान्छे भनेर चिनून् जस्तो लाग्छ रे उनलाई । ‘बरु मरेपछि मलाई सुनसहितै जलाई दिनु भनेको छु,’ रसिला उनले थपे, ‘सुन मेरो शरीरकै अंग जस्तै

बनिसकेको छ ।’चलचित्रमा विभिन्न भूमिका समेत निर्वाह गरेका उनी समाजसेवी पनि हुन् । धर्मकर्ममा आस्था राख्ने उनी शिवका भक्त हुन् । त्यही भएर हो कि उनले घाँटीमा शिवको मूर्ति भएको चाँदीको चेन समेत लगाएका छन् ।सुनप्रति आफ्नो अगाध लगाव भए पनि श्रीमतीलाई भने खासै रुचि नभएको उनले सुनाए ।

‘उनी सामान्य गहना मात्र लगाउँछिन्,’ सुवास भन्छन्, ‘मेरा छोराछोरीमा पनि सुनप्रति खासै रहर छैन ।’सुन किन्न मात्र होइन, शरीरका अंग छेडेर लगाउन पनि निकै कठिन छ । ‘कति घाउ लाग्छ, निकै अप्ठेरो हुन्छ,’ उनी थप्छन्, ‘के गर्नु सोखले जस्तोसुकै अप्ठेरोलाई पनि जित्दोरहेछ ।’ज्यानमै

५५ तोलाजति सुन बोकेर हिँड्ने यी अचम्मका मान्छेबारे यति बखान पढिसकेपछि धेरैलाई लाग्दो हो, आखिर यी गर्छन् चाहिँ के त ? उनी भन्छन्, ‘म काठमाडौं महानगरपालिका–६, गोकर्णेश्वर नगरपालिका–५ र ६ वडाको फोहोर व्यवस्थापनको काम गर्छु । मेरो रहर पूरा गर्ने माध्यम पनि यही हो ।’ अन्नपूर्ण पोष्ट

Related Articles

Back to top button
Close