News

मेयर शाक्य

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई सिल नगरेसम्म उपत्यकाभित्र संक्रमण नियन्त्रणमा नआउने बताएका छन् ।उपत्यकामा समुदायस्तरमा संक्रमण अझै पनि कम देखिएको र यसलाई नियन्त्रण गर्न सबै नाकामा सिल गर्नुपर्ने मेयर शाक्यले बताए ।

सञ्चारकर्मीसँग कुरा गर्दै शाक्यले उपत्यकामा समुदायमा भन्दा बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले त्यसलाई नियन्त्रण गर्न नाकामा सिल गर्नुपर्ने बताएका हुन् ।उनले अहिले नै सिल नगर्ने हो भने संक्रमण नियन्त्रणभन्दा बाहिर जान सक्ने बताए ।

उनले भने, ‘उपत्यकामा संक्रमण फैलियो भने रोक्न धेरै गाह्रो हुन सक्छ । किनकि यहाँ घना बस्ती छ । एउटै घरमा धेरै व्यक्ति बस्छन् । घरधनी एकजना छ भने त्यही घरमा बहालमा बस्नेहरू धेरैजना छन् । एउटै कोठामा धेरै व्यक्ति बसेका छन् ।यहाँ बिजनेस कम्प्लेक्सहरू धेरै छन् । यहाँ बजार धेरै छ ।

यहाँ बजारमा आवतजावत गर्दा एक व्यक्ति र अर्को व्यक्ति ठोक्किने सम्भावना धेरै छ । त्यसकारण त्यो वेला नै हामीले भनेका थियौँ उपत्यका सिल गरौँ । उपत्यकालाई कडा गरौँ । उपत्यकाभित्र रहेका ४० लाख व्यक्तिमा खुकुलो गरौँ, तर केही व्यक्तिलाई काठमाडौंभित्र छिराउँदाखेरि काठमाडौं एउटा शान्त तलाउ भनेका थियौँ, शान्त पोखरीमा ढुंगा हानेजस्तो हुन्छ ।’

उनले सरकारले लकडाउन खोले पनि लामो दूरीका सवारीसाधन चलाउन नदिएकाले यसलाई एक किसिमको लकडाउन नै मानेर आवतजावत बन्द गर्नुपर्ने बताए ।

एक जिल्लाबाट अर्को जिल्लामा जान निषेध गर्नु भनेको संक्रमण फैलन नदिनु भएकाले त्यसमा ध्यान दिन आग्रह गरे । उपत्यकामा अहिले पनि समुदायस्तरमा धेरै संक्रमण नदेखिएकाले यसलाई अहिले नै नियन्त्रण गर्नुपर्नेमा शाक्यले जोड दिए ।

Related Articles

Back to top button
Close