News

डाक्टर र नर्ससहित चितवनमा २७ जनामा कोरोना संक्रमण

चितवन : चितवनमा स्वास्थ्यकर्मीसहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शनिबार राति भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा भएको परीक्षणमा चितवनका डाक्टर र नर्ससहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै सर्लाहीका थप एक जना बिरामीमा पनि संक्रमण पाइएको छ ।संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् । भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा भरतपुर वडा नं. ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका छन् । यस्तै महिलाहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् । संक्रमित हुनेमा चिकित्सक र नर्सहरुसमेत छन् ।यस्तै, चितवनको रत्ननगरका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमा रहेका रत्ननगर नगरपालिका–५ र १२ का ३ पुरुष र एक महिलामा संक्रमण देखिएको छ । पुरुषहरु २५, ३२ र ३६ वर्ष उमेर समूहका हुन् भने महिला ३५ वर्षकी हुन् ।त्यसैगरी, चितवनकै खैरहनी नगरपालिका–८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।उनीहरू दुवै जना क्वारेन्टाइनमा छन् ।

भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएका सर्लाहीकी २९ वर्षीया एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।शनिबार राति ४ सय ७४ नमुना परीक्षण गरिएकोमा २७ जनामा कोरोना पोजेटिभ देखिएको हो भने ४ सय ४६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

Related Articles

Back to top button
Close