News

गरिबको पक्षमा भाषण गर्ने नेता सिंहदरबार पुगे, भोका जनता थाल थाप्दै

काठमाडौं । राजधानीको टुँडिखेल यस्तो साक्षी हो जसले पटकपटकका राजनीतिक परिवर्तन देखेको छ, यो देशबाट गरिबी र भोकमरीको युग समाप्त भएको उद्घोष पनि पटक पटक सुनेको छ ।तर, गरिबको नाममा टुँडिखेलमा भाषण गर्नेहरू नै सिंहदरबारमा भएको वेला टुँडिखेल भोका जनताको अभूतपूर्व जमघट देख्न विवश भएको छ । हो, महामारीको भय र निषेधाज्ञाको कानुनबीच पनि सयौँ नागरिक खुलामञ्चमा एकछाक खानाको पर्खाइमा बस्छन् । तर, त्यहीँ वरिपरिबाट झण्डा फहराउँदै तुफान गतिमा गाडी कुदाउने कुनै पनि दलका कुनै पनि नेताले अहिलेसम्म टुँडिखेलभित्र चियाएर हेरेका पनि छैनन् ।

अपराह्न ३ बजेदेखि चहलपहल हुन थाल्छ । ४ बजेसम्म त खुलामञ्च लगभग भरिन्छ । चर्को घाम होस् वा मुसलधारे पानी, खुलामञ्चको आँगनमा आज्ञाकारी बालकजस्तै चप्पल, झोला ओछ्याएर लहरै बस्छन् मान्छेहरू । दिनमा एक छाक खाना, उनीहरूको जीवनरेखा यही हो ।६ वर्षको छोरा, श्रीमतीसहित खानाको पर्खाइमा बसेका छन् शोभित परियार । परियारदम्पतीसँग कोठामा खाना मात्र होइन, पिउनलाई पानीसमेत छैन । सानो झोलामा सविनाले रित्ता बोतल बोकेकी छिन् ।फर्किने वेला बोतल भरेर पानी लग्ने योजना छ उनको । पानीसँगै झोलामा अलिकति खाना पनि लान्छिन् उनी ।

‘हामी आज खाएपछि भोलि बेलुकासम्म पर्खन सक्छौँ । तर, बच्चाले बिहानै भोक लाग्यो भन्छ,’ गह्रौँ स्वरमा उनी भन्छिन्, ‘उसलाई दिने केही छैन, त्यसैले यहीँबाट भात लगेर जान्छु ।’गोर्खा आरुघाटका शोभित न्युरोडको टेलरिङ पसलमा काम गर्थे । ११ चैतको लकडाउनसँगै काम खोसियो । काम र दाम रोकियो । सहरमा हातमुख जोर्न गाह्रो भए पनि उनीहरू गाउँ गएनन् । ‘गाउँमा पनि हाम्रो केही छैन । त्यहाँ पनि भोकै पर्ने हो । कम्तीमा यहाँ त पसलेले उधारो दिन्छन् भनेर यतै बस्यौँ,’ उनी भन्छन् ।सुरुका केही महिना त शोभितले उधारो पनि पाए ।

तर, बक्यौता धेरै भएपछि उधारो बन्द भयो । यता घरबेटीले भाडा ताकेता गर्न थाले । ‘घरबेटीलाई हात जोडेर बसेका छौँ, तर पसलेले उधारो ठप्प पारिदिए,’ उनी भन्छन्, ‘कोठामा खाना छैन, पानी पनि छैन । भोकै, प्यासै मर्नुभन्दा त खान पाइन्छ भनेर यहाँ आएको । हामी काम गरेर खाने मान्छे, यसरी लाइन लागेर खान लाज लाग्छ, तर ज्यानभन्दा ठूलो केही रहेनछ,’ उनी सुनाउँछन् ।शोभितले हामीसँग संवाद गरिरहेको वेला टुँडिखेलको पूर्वी गेट अर्थात् विद्युत् प्राधिकरणतर्फबाट एउटा ट्याक्सी आयो । बुबाको मोबाइल हेरेर बसेको ६ वर्षे छोरा ‘आमा खाना आयो, आमा खाना आयो,’ भन्दै गाडीतर्फ दौडिए ।

छोरासँगै परियारदम्पती पनि खानाको लाइनतर्फ सोझिए ।खुलामञ्चमा हरेक साँझ वितरण गरिने खानाले नै शोभित र उनीजस्ता सयौँ मानिसको ज्यान जोगाएको छ । खुलामञ्चमा खाना वितरण गर्ने दुई टोली छन् । इन्दिरा रानामगर नेतृत्वको टोलीले प्याकिङ खाना वितरण गर्छ जसलाई सर्वसाधारणले घर लग्न सक्छन् । ‘हन्ड्रेड्स ग्रुप’ नामको अर्को टोलीले त्यहीं बसेर खाने गरी खाना वितरण गर्छ ।यी दुवै टोलीले खाना वितरण गरेको धेरै भइसक्यो । ११ चैतमा लकडाउन सुरु भएको अर्को सातादेखि नै उनीहरू यही पुन्यकर्ममा छन् ।

दुवै टोली मिलेर खुलामञ्चमा हरेक दिन करिब पाँच सय जनालाई खुवाउन थालेको पाँच महिना भइसक्यो ।दुवै समूहले सुरुवातमा सडकबालबालिका, सडकमानवका लागि खाना वितरण सुरु गरेका थिए । लकडाउन लम्बिँदै गएपछि सहरका मान्छेका दुःख चुलिँदै गयो, टुँडिखेलमा मान्छे बढ्न थाले । ‘सडकमानव, रिक्साचालक, सवारीचालक, सहचालक र निर्माण मजदुर मात्र आउँथे पहिले । अहिले त रोजगारी गुमाएका धेरै दाजुभाइ, दिदीबहिनी आउनुहुन्छ,’ इन्दिरा भन्छिन् ।इन्दिरा एक्लै छैनन् । आङफुरी शेर्पाले उनलाई सघाउँछन् ।

आङफुरी शेर्पाले ६ पटक चीनतर्फबाट र ६ पटक नेपालतर्फबाट सगरमाथा आरोहण गरिसकेका छन् । तर, लकडाउनबीच सहरको एउट समुदाय कुन दुःखबाट गुज्रियो भन्ने उदाहरण हो आङफुरीको भोगाइ ।‘लकडाउनपछि म आफैँ भोकै परें, भोकले मरिन्छ जस्तो भयो, खाना बाँड्ने ठाउँ छन् रे भन्ने सुनेपछि खोज्दै आउँदा उहाँसँग भेट भयो, उहाँले बाँडेको खाना खाएर जीवन धानेँ तर खाना मात्र खाएर भएन, उहाँलाई सघाउनु पनि पर्‍यो भनेर टिममा जोडिएको छु ।’ ‘हामी त सिजनमा मात्र पैसा कमाउने हो ।सिजन सुरु हुनै लाग्दा बन्द भयो । भोक लाग्यो, अरू उपाय नभएपछि खाना खोज्न हिँडेँ,’ उनले भने ।

आङफुरी शेर्पा हिमाल चढ्ने भरिया हुन् । सिजनमा कमाइ हुन्छ, तर अहिले त पर्यटनको सिजन नै आएन, त्यसैले उनी बेरोजगार र भोका भए । उनी मात्र होइन, लकडाउनअघि नियमित आम्दानी भएका मजदुर पनि खाना खान अहिले टुँडिखेल पुग्छन् । निषेधाज्ञामा आवागमन रोक्न सडकमा खटिएका प्रहरीका आँखा छल्दै बानेश्वरबाट हरेक दिन अपराह्न ४ बजे टुँडिखेल पुग्छन् गुल्मीका पूर्ण पाण्डे ।लकडाउनअघि पाण्डे बागबजारको स्कुलको क्यान्टिनमा काम गर्थे । स्कुलले अनलाइन पढाउन थालेपछि पाण्डेको क्यान्टिनको रोजगारी गुम्यो ।

विद्यार्थीलाई विभिन्न परिकार खुवाउने पाण्डे आफैँ भोकै पर्न थाले । ‘काम गरेर खान रमाउने मान्छे यसरी सडकमा प्लेट थापेर खानुपरेको छ । रोजगारी गुमाएका मान्छेले के खाए होलान्, तिनलाई राहत दिनुपर्छ भन्ने सरकार भएन,’ उनी भन्छन् ।पाण्डेको गाउँमा आमा, श्रीमती र तीन सन्तान छन् । तर, पैसा नभएकै कारण उनी लकडाउन खुकुलो भएको वेला पनि गाउँ जान सकेनन् । ‘परिवार पाल्ने मान्छे, रित्तो हात कसरी जानु भनेर मनले मानेन, खुलेपछि काम गरौँला, केही आर्जन गरेर जाउँला भनेर यतै बसियो, तर झन् पछि झन् बर्बाद भयो,’ उनी सुस्केरा हाल्छन् ।

खाना खान आउनेलाई मात्र होइन, खाना वितरण गर्ने स्वयंसेवकलाई पनि सजिलो छैन । ‘हन्ड्रेड्स ग्रुप’की सदस्य रुविना धमाला चैतयता खाना वितरणमा छिन् । बिहानैदेखि खाद्यान्न संकलन गर्ने, पकाउने, प्याक गर्ने र वितरणको काम गर्दा रात पर्छ ।महामारीबीच पनि उनी हरेक दिन घरबाहिर निस्केको देख्दा परिवार चिन्तित हुन्छ । ‘घरमा सबैजना डराउँछन्, चिन्ता गर्छन् । तर, यत्तिका मान्छेलाई सडकमा भोकै छाडेर हामी भने टन्न खाएर कसरी घरमा बस्न सक्छौँ ?’ २५ वर्षकी रुविनाले गम्भीर प्रश्न गरिन् । यो समूहले पहिले गौशाला, चाबहिल, थापाथली क्षेत्रमा पनि खाना वितरण गरेको थियो ।

हन्ड्रेड्स ग्रुप र इन्दिरा रानामगर दुवै समूहले निजी स्रोतबाट खाना वितरण सुरु गरेका हुन् । हन्ड्रेड्स ग्रुपका एकजना संस्थापक यम खड्का भन्छन्, ‘मान्छेहरू भोकै परेको देखेपछि हामीले सुरुमा आफ्नै पैसाबाट खाना वितरण गर्‍यौँ । तर, अहिले सहयोगी हातहरू प्रशस्तै आएका छन् । खाद्यान्न, पैसा मात्र होइन मान्छेहरू स्वयंसेवा गर्न पनि आउन थालेका छन् ।’ हामी त्यहाँ पुगेका वेला सरकारी कर्मचारी, प्रहरी र सेनाका मान्छेहरू सहयोग लिएर आएका थिए ।हन्ड्रेड्स ग्रुपले बानेश्वरस्थित आफ्नै क्लबको घरमा खाना पकाउँछ ।

समूहका सदस्यहरू बिहानदेखि रातिसम्मै खाना पकाउन, संकलन गर्न र वितरणमा सक्रिय रहन्छन् । यता रानामगर भने घरमै खाना पकाउँछिन् । तीन जना छोरीले उनलाई सघाउँछन् ।खाद्यान्न, तरकारी ल्याउन र खाना वितरणमा ट्याक्सी चालक लीला रेग्मीले सघाउँछन् । ‘संकटका समयमा मानवीय सहयोग नै सबैभन्दा ठूलो जिम्मेवारी हो, त्यसैले मैले पनि सहयोग गरेको छु,’ चालक रेग्मी भन्छन् ।इन्दिरालाई सघाउनकै लागि छोरी सुवानी आलेगमर लन्डनबाट नेपाल आएकी हुन् । ११ कक्षा पढ्ने अपराजिता र निशु आफ्नो अनलाइन क्लास भ्याएर रानामगरलाई सघाउँछन् ।

‘विश्वभर मान्छे संकटमा परेको यो समयमा हामीजस्ता युवाले आफूलाई सक्रिय बनाउनुपर्छ, मानवीय सहयोगमा लगाउनुपर्छ भनेरै लन्डनबाट आएर आमालाई सघाइरहेकी छु,’ सुवानी भन्छिन् ।यस्ता मनकारीका कारण धेरै भोकाले पेट भर्न पाएका छन् । तर, पेट भरेर मात्र धेरैलाई सन्तोष छैन । कोठाभाडा तिर्न नसकेर धेरै अपमानित भएका छन् । आर्थिक संकट चुलिएपछि भक्तपुरको ढल–पाइप उद्योगमा काम गर्ने श्याम ढुंगेलले गाउँको धान बेचेर काठमाडौंमा कोठाको भाडा तिरे ।हुन त ६५ वर्षे श्याम पहिलो लकडाउनमा नुवाकोट त्रिशूलीस्थित घर गएका थिए ।

तर, लकडाउन खुकुलो भएपछि काम पाइन्छ भनेर १ असारमा काठमाडौं आएका हुन् । ‘काम पाउनु त कता हो कता, उल्टै भोकले मरिएला भन्ने डर भयो,’ श्यामले सुनाए ।पहिलो पटकको लकडाउनमा दुई दिन लगाएर हिँडेरै घर गएका थिए, तर यसपटक भने उनी हिँडेर नजाने पक्षमा छन् । ‘हिँडेर घर जान त हुन्थ्यो, बाटोमा भोक लाग्छ, प्यास लाग्छ । किनेर खानलाई सुको पैसा छैन,’ उनी भन्छन् । उता, चारजनाको परिवार पाल्नुपर्ने जिम्मा भएका श्यामलाई रित्तो हात गाउँ फर्किन मन छैन । ‘उनीहरूले खाने धान बेचेर कोठाभाडा तिरेको छु, त्यसैले पनि पाप गरेजस्तो लाग्छ ।

अहिले रित्तो हात कसरी जानु ?’ श्याम चिन्तित देखिन्छन् ।निषेधाज्ञा जारी नभएको भए सञ्जीव राई होटेलमा काम गरिरहेका हुन्थे । होटेलकै आम्दानीबाट परिवार पालिरहेका हुन्थे । तर, होटेल बन्द भएपछि सञ्जीवको परिवार सडकमा आइपुगेको छ । खानाको खोजीमा बिहानदेखि सहर डुल्छन् ।काभ्रेपलाञ्चोक पाँचखालका सञ्जीव श्रीमती र १२ वर्षे छोराका लागि खाना खोज्न दिनभर सहर डुल्छन् । ‘कता–कता, खाना, चिउरा बाँडिरहेका हुन्छन्, त्यहीँ खोज्न जान्छु,’ सञ्जीवले भने, ‘यो ठाउँ पत्ता लागेपछि एकछाक पेटभरि खान पाउन थालेको छु ।’

११ चैतमा लकडाउन भएपछि सञ्जीव परिवारसहित गाउँ गएका थिए । १ असारमा लकडाउन खुल्यो भनेपछि उपत्यका आएका सञ्जीवले होटेलमा काम सुरु गर्न नपाउँदै निषेधाज्ञा भयो । ‘अलि–अलि भएको पैसा पहिलो लकडाउनमै सकियो । खुल्यो भनेपछि काम गर्छु भनेर आएको अहिले फेरि बन्द भयो,’ सञ्जीव दुःख पोख्छन् ।सञ्जीवको कोठामा खाना मात्र होइन, ग्यास पनि छैन । तीन महिनाको कोठाभाडा तिर्न नसक्दा घरबेटीबाट अपमानित हुनुपरेको छ । ‘कोठामा ग्यास, खाना केही छैन । तीन महिनाको कोठाभाडा तिरेको छैन, घरबेटीले भाडा तिर, नभए कोठा खाली गर भनेका छन्,’ सञ्जीवले सुनाए ।

असार ०७५ मा राजधानीको र्‍याडिसन होटेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भनेका थिए, ‘अब हामी देशको एक जना नागरिक भोको छ–छैन, एक जना पनि नागरिक खान नपाएर त बसेको छैन कि भनेर पनि हेर्छौँ ।’ प्रधानमन्त्री ओलीले बारम्बार दोहोर्‍याएको नारा हो ‘नो स्ट्रिट पिपुल’ । अर्थात् सडकमा भोका कोही हुने छैनन् ।प्रधानमत्रीको बोलीको सिको गर्दै मंसिर ०७६ मा काठमाडौं महानगरपालिकाले सडक मानवमुक्त घोषणा गर्‍यो । त्यसअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले १३ असोज ०७६ मै स्थानीय तहलाई सडक मानवमुक्त बनाउन निर्देशन नै दिइसकेका थिए ।

‘भोकै कोही पर्दैनन्, भोकले कोही मर्दैनन्’ भन्ने नारा संघीय सरकारको ०७५–७६ को बजेटमै उल्लेखित थियो ।कार्यक्रममा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘हर एक नागरिकले सबै सेवा र सुविधा पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । अब नेपालमा कोही भोकै पर्दैन, कोही भोकै मर्दैन । नेपाली भिखमंगा हुन सक्दैन । खान–लाउन नपाउने नेपाली हुन सक्दैन ।’१५ वैशाख ०७६ मा प्रधानमन्त्री ओलीले सडकमा मानव देखे फोन गर्न आग्रह पनि गरेका थिए । १३ असोज ०७६ मा प्रधानमन्त्रीले भने, ‘अब छिट्टै सडक मानवमुक्त देश घोषणा गर्नेछौँ ।’

४ कात्तिक ०७६ मा प्रधानमन्त्रीले फेरि उद्घोष गरे, ‘अब सडकमा कोही सुतेको, जिंग्रिंग भएर बसेको देख्नु पर्दैन । सडकमा मान्छे हुनै सक्दैन । हरेकको व्यवस्था गरिन्छ । आवास दिइन्छ । अब नो स्ट्रिट पिपुल ।’०७६–७७ को नीति तथा कार्यक्रममा उल्लेख गरिएको कुरा पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनेकी थिइन्, ‘मेरो सरकारले असहाय, बेवारिसे, संक्रमित र आश्रयहीन बालबालिकालाई संरक्षण र हेरचाह गर्नेछ, सक्षम नागरिक बनाई रोजगारीका अवसर उपलब्ध गराउनेछ ।’२ जेठमा मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा गरिबीका कारणले कोही भोकै नमर्ने दाबी गरेकी थिइन् ।

सरकार, प्रधानमन्त्री र राष्ट्रपति मात्र होइन अदालतले पनि सडकमा आएका मानिसको व्यवस्थापन गर्नू भन्दै पटक–पटक सरकारलाई आदेश दिइसकेको छ । सर्वोच्च अदालतले सडकमानवको व्यवस्थापन गर्न भन्दै ०७३ मै सरकारका नाममा परमादेश जारी गरेको थियो ।२६ जेठ ०७३ मा सर्वोच्चले ‘जीवन नै संकटमा परेका, अशक्त, परित्यक्त तथा घरबारविहीन बेवारिसे मानवको संरक्षणका लागि उचित वासस्थान र भरणपोषणको व्यवस्था गर्नू’ भनी सरकार तथा मन्त्रिपरिषद्का नाममा परमादेश जारी गरेको थियो ।नयाँ पत्रिका दैनिकबाट

Related Articles

Back to top button
Close