News

दशैंसम्म निषेधाज्ञालाई निरन्तरता दिन जिल्ला प्रमुखहरुको सुझाव

काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रमुख अधिकारीहरुले उपत्यका प्रवेशमा थप कडाइ गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उपत्यकाभित्रका तीनवटै जिल्लाकका प्रमुख जिल्ला अधिकारीहरुले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरुको आवागमनमा थप कडाइ गर्नुपर्ने बताएका हुन् ।

काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँचवटै नाकामा सेना परिचालन गर्नुपर्ने बताउनुभयो । उहाँले चाहेर पनि र नचाहेर पनि दैनिक दुई हजारभन्दा बढीलाई भित्र्याउनु परेको उल्लेख गर्दै नाकालाई ठप्प पार्न नसकिने बताउनुभयो ।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दशैँसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । चाडपर्वको समयमा मानिसहरुको आवागमन पनि बढ्ने भएकाले त्यसलाई रोक्न अहिलेदेखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिँदै जनजीवन सहज बनाइ निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अब हाम्रो अगाडि चाडवाडहरु आइरहेका छन् दशैँजस्तो ठूलो चाड आउँदै छ । मानिसहरुको अति ठूलो भावना हुँदो रहेछ । त्यो अहिले हामीले बेहोरिरहेका छौँ । जात्रा, संस्कृति र पर्वहरु भनेपछि बरु ज्यान फाल्न पनि तयार हुँदो रहेछ । दशैँमा पनि त्यस्तो हुन सक्छ ।

त्यसो भएको हुनाले दशैँसम्म हामीले यसलाई कुनै न कुनै रुपमा अलिकति केही खुकुलो बनाए पनि यो स्थिति कायम गर्नैपर्ने हुन्छ ।

होइन भने मानिसहरु दशैँमा घर जाने भन्ने हुन्छ, जमानादेखि गरिआएको चिज यो ठूलाबडाको हातबाट टिको थाप्नै पर्ने हुन्छ जे सुकै भए पनि आशीर्वाद लिनुपर्छ भन्ने खालको सेन्टिमेन्ट र इमोसनमा झन् भयाभह स्थिति हुन सक्छ । त्यसलाई पनि विचार गरेर यो दशैँसम्म अझै सहजीकरण गर्ने तर यसलाई त्यो बेलासम्म निरन्तरता दिनुपर्छ जस्तो लाग्छ ।’

Related Articles

Back to top button
Close