News

लकडाउनको सदुपयोग : च्याउबाट आत्मनिर्भर बन्दै युवा

चित्र मिजार सिन्धुपाल्चोक, भदौ १८ गते। लकडाउनको समयलाई सदुपयोग गर्दै त्रिपुरासुन्दरी गाउँपालिका-२, चोकटीका युवाहरू च्याउ खेती गरेर आत्मनिर्भर हुन थालेका छन। चोकटीको लागार्चेमा १० रोपनी जग्गा भाडामा लिएर युवाहरूले कन्या च्याउको व्यवसाय शुरु गरेका छन् ।

विदेश गएर अर्काकै देशमा रगत पसिना चुहाएर काम गर्नु भन्दा आफ्नै गाउँमा सानोतिना व्यवसाय गरेपनि आत्म निर्भर हुन सकिने आशामा युवाहरूले च्याउ खेती शुरु गरेको बताएका छन् । अहिले उनीहरूले १२ वटा टनेलमा च्याउ खेती गरेका छन् । दश लाख लगानीबाट शुरु गरेको उक्त च्याउ खेतीको उत्पादन पनि अति राम्रो भएको उनीहरूले जनाएका छन् । च्याउ धमाधम उत्पादन हुन थालेको छ ।

उत्पादन गरेको च्याउमा कुनै पनि विषादी नमिसाइएको सुवास राउत बताउनु हुन्छ । दैनिक तीन सय देखि पाँच सय किलोसम्म च्याउ उत्पादन भइ रहेको छ । ती च्याउलाई पाँचखाल र राजधानीको डिलरमा लगेर बिक्री गर्ने गरिएको सुवासले जानकारी दिनुभयो । अर्गानिक च्याउ उत्पादन गरेकै कारण स्थानीय र राजधानीका बजारमा माग बढेको अर्का युवा सबिन राउतले बताउनुभयाे ।

२०७६ फागुनबाट युवाहरूले सुरा कृषि प्रालिले नामबाट उत्पादन गरेको च्याउ प्रतिकेजी १५० रुपियाँमा स्थानीय बजारमा नै बिक्री हुँदैआएको छ। तराईबाट पराल ल्याई त्यसलाई पानीमा उमालेर बल बनाई कन्या च्याउको बीउ उमारेर स्वादिष्ट च्याउ उत्पादन गरेको युवाहरूले जनाएका छन् । उनीहरूले उत्पादन गरेको च्याउको माग दिन दिनै बढ्न थालेको छ । राउत युवाहरू मिलेर व्यावसायिक रुपमा च्याउ खेती गरेर मनग्गे आम्दानी हात पार्न थालेपछि अन्य युवाहरू पनि विभिन्न व्यावसायिक खेतीमा लाग्न शुरु गरेका छन्।

Related Articles

Back to top button
Close